

बालेन र हर्क साम्पाङको ‘जुहारी’बारे संसदमा छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच काठमाडौंको फोहर नउठेको विषयलाई लिएर संसद्मा चर्चा भएको छ ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा काठमाडौंका एमाले सांसद कृष्णकुमार राईले बालेन र हर्कको दोहोरीको विषय संसद्मा उठाएका हुन् । ‘काठमाडौंका मेयरले लाचारी प्रस्तुत गरिरहेको समयमा मेयर बालेन र धरानका मेयर हर्कबीच दोहोरी चल्यो, १ बुँदे सहमतिपछि फोहोर उठेन’ सांसद राईले भने, ‘महानगरले हो कि सरकारले उठाउने, न महानगरले कुनै योजना पेश गरेको देखिन्छ । नयाँ प्रविधि ल्याएर फोहोर व्यवस्थापन गरौँ ।’
काठमाडौंको फोहोर उठाउन नसकेको भन्दै धरानका मेयरले समाजिक सञ्जालमा टिप्पणी गरेपछि दुई मेयरबीच सामाजिक सञ्जालमा घोचपेच चलिरहेको छ ।