अधिकारी बाबुछोराको दुर्लभ संयोग, एकैदिन थपियो काँधमा डिएसपीको फुली !



काठमाडौं । जीवनमा संयोग पनि अनेक पर्छ । यस्तै अनौठो संयोग आज बिहीबार दिउँसो प्रहरी प्रधान कार्यालयमा देखियो । नेपाल प्रहरीले प्रहरी नायब उपरिक्षक (डिएसपी) बढुवाका लागि निकालेको सूचीमा कास्की माछापुच्छ्रेका राजेन्द्र अधिकारी र उनकै छोरा धु्रव अधिकारीले एकै दिन डिएसपीको दर्ज्यानी चिन्ह लगाए ।

उनीहरुलाई एक विशेष कार्यक्रममा बिहीबार प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले डीएसपीको दर्ज्यानी चिन्ह प्रदान थिए ।

केहिदिन अघि जनपद प्रहरी समूहतर्फबाट राजेन्द्र डीएसपीमा बढुवा सिफारिस भएका थिए भने ध्रुव प्राविधिक समूहतर्फबाट डीएसपीमा सिफारिस भएका थिए । हुन पनि नेपाल प्रहरीमा बाबु र छोरा एउटै पदमा एकै दिनमा बढुवा भएको सायदै थियो होला ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका—४ स्थायी घर भएको अधिकारी परिवार विगतबाट नै सुरक्षाकर्मीमा आकर्षित थियो, किनकि राजेन्द्रका बुबा नरपति अधिकारी पनि भारतीय सेनामा कार्यरत थिए ।

उनीहरूको यो संयोग मिल्नुको कारण भने प्रहरी सेवाभित्र रहेका फरक–फरक क्षेत्रका कारण हो । प्राविधिक समूहमा दरबन्दी र जनशक्ति जनपद प्रहरीको तुलनामा कम हुन्छ ।

ध्रुव २०७५ सालमा प्राविधिकतर्फको इन्स्पेक्टरमा भर्ना भएका थिए । ध्रुव प्रहरी सेवामा प्रवेश गरेको चार वर्षमा त बाबु राजेन्द्र सेवामा प्रवेश गरेको २८ वर्षपछि डीएसपीमा बढुवा भए ।

राजेन्द्र २०५१ प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । २०५७ सालमा असईबाट सईमा बढुवा भएका उनी २०६७ सालमा इन्स्पेक्टर बनेका थिए ।