

विदेशबाट फर्किएको २ सातामै श्रीमतीको हत्या, भाग्न खोज्दा तीन तलामाथिबाट खसेर मृत्यु

चितवन । चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कृष्णप्रसादले आफ्नै घरको तीन तला माथी रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भिर घाइते भई उपचारको लागी रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राती नै १०ः४० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । लामो समय विदेश बसेर हालै फर्किएका कृष्णले घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको स्थानीले बताएका छन् ।
खुकुरी प्रहार गर्ने निजको श्रीमान सोही तीन तला माथीबाट हाम फाली भाग्न खोज्दा श्रीमानको पनि मृत्यु भएको अधिकारीले बताए । हाम फालेर भाग्न खोज्दा गम्भिर घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राती ११ बजे मृत्यु भएको उनले बताए ।
रुष्मा राष्ट्रिय मावि तोरीखेतमा शिक्षण गर्थिन् । श्रीमान् भने कतार बस्थे । दुईसाता अघि मात्रै घर आएका उनको श्रीमतीसँग विवाद परेको थियो । विवाद चर्किंदै जाँदा उनीहरू सम्बन्ध विच्छेदको प्रक्रियामा समेत रहेको आफन्त बताउँछन् । उनीहरूका १२ वर्षीया छोरी छन् । शनिबार घटना हुँदा घरमा छोरी मात्रै थिइन् । छोरी चिच्याउँदै बाहिर निस्केपछि घटना स्थानियले थाहा पाएका थिए । प्रहरीले श्रीमतीको हत्यापछि भाग्ने क्रममा खसेको हो कि आत्महत्याका लागि हामफालेको भन्ने खुल्न नसकेको बताएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।