

रामेछाप बस दुर्घटनाः ७ पुरूष र ५ महिलासहित १२ को मृत्यु

रामेछाप । रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापबाट रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
‘बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालले जानकारी दिए ।
उनका अनुसार मृतकको पहिचान भइसकेको छैन । मृत्यु हुनेमा सात जना पुरुष र पाँच जना महिला रहेका प्रहरी निरीक्षक ढकालले बताए । दुर्घटनामा घाइते भएका २२ जनाको काभ्रेमा उपचार भइरहेको छ ।
धुलिखेलमा २१ जना र बनेपामा एक जना घाइतेको उपचार भइरहेको जानकारी दिएका ढकालले हेलिकप्टरबाट उद्धार गरिएका तीन जनाको कहाँ उपचार भइरहेको भन्ने एकीन नभएको जानकारी दिए ।
‘तीन जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको थियो । उनीहरुको कहाँ उपचार भइरहेको छ, एकीन भएको छैन,’ उनले भने, काभ्रेमा उपचार भएका २२ जनामध्येमा छन् कि अन्त कतै लगिएको र उपचार भइरहेको छ, खुल्न बाँकी छ ।’
रामेछापको हिलेदेवीबाट छुटेको सो बस मंगलबार बिहान सवा १० बजे लुभुघाटमा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण पत्ता नलगाए पनि मोडमा कटाउन नसक्दा दुर्घटना भयो कि भन्ने अनुमान गरिएको निरीक्षक ढकालले बताए ।