रुञ्जुको उम्मेदवारी ईश्वर पोखरेललाई च्यालेन्ज !



काठमाडौं । विवेकशील साझा पार्टी परित्याग गरेकी नेतृ रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरू समक्ष बाँड्न पाउँदा हर्षित छु’, उनले भनेकी छन् ।

रञ्जुले आफ्नो चुनावी अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सारथी बन्न चाहनेहरूलाई फाराम भरेर सम्पर्कमा आउन पनि आग्रह गरेकी छन् । २०७४ सालमा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नेता ईश्वर पोखरेल निर्वाचित भएका थिए ।

त्यसअघि भएको स्थानीय चुनावमा दर्शनाले काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेकी थिइन् ।

रञ्जुको उम्मेदवारी एमाले नेता ईश्वर पोखरेललाई च्यालेन्ज भएको आम मतदाताले बताएका छन् । त्यस्तै काठमाडौं ५ बाट नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत उठ्ने भनिए पनि उनी पछिल्लो राजनीतिक घटनाक्रमसँगै काठमाडौंमा पराजय भोग्ने डरले नुवाकोटबाट उम्मेदवारी दिने तयारी गरेको समेत जनाइएको छ ।