देशभर थपिए दुई हजार ५६९ संक्रमित, १४ जिल्लामा ५ सय बढी संक्रमित



काठमाडौं । देशभरमा बुधबार कोभिड–१९ का दुई हजार ५६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै एक हजार ६६६ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ५६९ र महिला एक हजार सात रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आज सङ्क्रमणमुक्त भएका एक हजार ६६६ समेत गरी आजसम्म एक लाख ६२ हजार २४३ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ८०  प्रतिशत रहेको छ ।

आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ९१२ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख दुई हजार ३२९ पुगेको छ ।

काठमाडौँ उपत्यकामा आज एक हजार २६१ सङ्क्रमित थप भएका छन् । काठमाडौँ जिल्लामा ९७६, ललितपुर २०४ र भक्तपुर ८१ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा आज थपिएका सङ्क्रमितमध्ये एक हजार ७३३ पुरुष र ५२८ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा १७ हजार १६४, ललितपुरमा दुई हजार ५०६ र भक्तपुरका एक हजार २७५ सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै, होम आइसोलेसनमा रहनेको सङ्ख्या काठमाडौँमा ११ हजार ३९३, ललितपुर एक हजार ८३१ र भक्तपुरमा एक हजार ८१४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १० हजार ८१ नमूना परीक्षण भएको थियो । हालसम्म १५ लाख ७४ हजार २९५ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ५३ हजार ९४९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव आठ प्रतिशत छ । क्वारेइन्टीनमा रहेकाको सङ्ख्या आज एक हजार १०९ रहेको छ ।

सक्रिय सङ्क्रमितमध्ये हाल २८ हजार ३९३ होम आइसोलेसन र १० हजार ५१९ संस्थागत आइसोलेसनमा रहेका छन् ।  प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा चार हजार ७४७, प्रदेश २ मा ९५२, बाग्मती प्रदेशमा १८ हजार ९३९, गण्डकी प्रदेशमा दुई हजार १२१, लुम्बिनी प्रदेशमा ४०४, कर्णाली प्रदेशमा ३३७ र सुदूरपश्चिम प्रदेशमा ८९३ रहेको छ ।

देशभरमा गरी आज ३८२ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ४६, प्रदेश २ मा १२, बाग्मती प्रदेशमा १७१, गण्डकी प्रदेशमा ६९ र लुम्बिनी प्रदेशमा ६१, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १५ सङ्क्रमित आइसियूमा रहेका छन् । त्यस्तै, प्रदेश १ मा १६, प्रदेश २ मा दुई, बाग्मती प्रदेशमा ६०, गण्डकी प्रदेश ११ र लुम्बिनी प्रदेश छ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमले साउनदेखि यता कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब ८१ करोड ५९ लाख छ हजार विनियोजन भएको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले परीक्षण र उपचारमा यसअघि गरिएको व्यवस्था परिवर्तन गर्दै सरकारले सूचीकृत गरेको सरकारी अस्पतालमा लक्षणसहितका सङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना बिमा गरेका सङक्रमितले बिमा कम्पनीबाट बिमा रकम दाबी गर्नुपर्छ भने सक्षम र इच्छुक ब्यक्तिले चाहेमा योगदान गर्नसक्नुहुन्छ ।”

चौध जिल्लामा ५०० बढी सङ्क्रमित, मनाङमा शून्य

आजसम्म देशभरका ७७ जिल्लामध्ये १४ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने मनाङमा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रे,  चितवान, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही,  दाङ र कैलाली रहेका छन् । आजसम्म मनाङमा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् । 

थप २६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप २६ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार १०९ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये  मृत्यु हुने दर शून्य दशमलव छ प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ४० दशमलव दुई हो ।