नवलपुर क्षेत्र नं. २: यस्ता छन् चार स्थानीय तहका हार जितका मुख्य कारण



नवलपुर – पूर्वी नवलपुर जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गतका चार स्थानीय तहको मतगणना सम्पन्न भएको छ । चार स्थानीय तहमध्ये ३ वटामा नेकपा एमालेले जित हात पारेको छ भने १ वटामा नेपाली कांग्रेसले जित हात पारेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा चारवटै स्थानीय तहमा नेपाली कांग्रेसले नेतृत्व लिएको यी स्थानीय तहमा यसपटक नेकपा एमालेले किल्ला जमाएको हो । प्रतिनिधिसभा क्षेत्र नं. २ मा तीन गाउँपालिका, मध्यविन्दु नगरपालिका र जिल्ला सदरमुकाम कावासोतीका केही वडा रहेका छन् । कस्तो रह्यो त नवलपुरका बौंदीकाली, हुप्सेकोट, विनयी त्रिवेणी गाउँ पालिका र मध्यविन्दु नगरपालिकाको स्थानीय तह निर्वाचन स्थितिः

बौंदीकाली गाउँपालिका

नेपाली कांग्रेसको बलियो स्थानीय तहको रुपमा मानिएको पहाड भू–भागमा रहेको बौंदीकाली गाउँपालिकामा यसपटक नेकपा एमालेले अध्यक्ष उपाध्यक्षसहित बहुमत वडामा जित हात पारेको छ । अधिकांश मगर समूदायको बाहुल्यता रहेको बौंदीकालीमा यसपटक नेकपा एमालेका युवा उम्मेदवार प्रकाश ओझाले बाजी मारे । मगर समूदायकै उम्मेदवार नेपाली कांग्रेसका खड्गबहादुर राना (केबी राना) लाई पराजित गर्दै ओझाले बौंदीकालीमा नेकपा एमालेको झन्डा गाड्न सफल भए ।

बौंदीकाली गाउँपालिकामध्ये प्रकाशको गृहवडा रहेको वडा नं. २ डेढगाउँ सबैभन्दा धेरै मतदाता भएको वडा हो । प्रकाशकै वडा भएको र उपाध्यक्षका लागि यसअघिको निर्वाचनमा पराजित भएकी मगर समूदायकी डिलकुमारी सारुका भएका कारण बौंदीकाली एमालेले राम्रो मत ल्याउन सफल भयो । र प्रकाश पहिलो प्रयासमा र डिलकुमारी दोस्रोप्रयासमा बौंदीकालीको नेतृत्वमा पुगे ।

त्यसका साथै नेपाली कांग्रेसबाट उम्मेदवार रहेका केबी राना र उपाध्यक्षकी उम्मेदवार धनकान्ती घिमिरेले केही हदसम्म ‘टुरिस्ट’ उम्मेदवारको ट्याग भिर्नु पनि एमालेका लागि सहयोगी सिद्ध भयो । व्यावसायिक प्रयोजनका लागि कावासोती र काठमाडौं बस्दै आएका कांग्रेस उम्मेदवारहरु उक्त क्षेत्रमा भिजेको भए पनि नेकपा एमालेका उम्मेदवारको तुलनामा गाउँमा कम बस्ने भएको हुनाले उनीहरुले त्यसको मूल्य चुकाउन पुगे ।

त्यसबाहेक प्रमुख कारण चाहिँ एमालेको आक्रामक संगठन विस्तारका साथै नेपाली कांग्रेसको ‘ओभर कन्फिडेन्स’ नै एमालेले बौंदीकाली खोस्न सफल भयो । बौंदीकालीमा हरेक निर्वाचनको रणनीतिमा एमाले जहिले माथि नै पर्ने गर्दथ्यो, अरु पालि सफल हुँदैनथ्यो भने अहिले सफल भयो । यसअघिका निर्वाचनमा बाह्य रुपमा पार्टीका सबै कार्यकर्तालाई समेटेको देखिए पनि आन्तरिक रुपमा समेट्न नसक्नु बौंदीकाली एमालेको कमजोरी थियो, तर यसपटक त्यसो हुन पाएन । नेकपा एमाले बौंदीकाली गाउँ कमिटीको अध्यक्ष चुनिनुअघि र चुनिएपछि प्रकाशले गरेको सबैभन्दा ठूलो कार्य त्यही हो । र, उपलब्धि देखियो स्थानीय तह निर्वाचनमा ।

बौंदीकालीमा चार वटा वडा र अध्यक्ष उपाध्यक्षमा एमाले उम्मेदवारले जित हात पारेका छन् भने २ वटा वडामा नेपाली कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

हुप्सेकोट गाउँपालिकाः

हुप्सेकोट गाउँपालिकामा यसपटक नेपाली कांग्रेसले अतिराम्रो नतिजा ल्याउन सफल भयो । यसअघिकै गाउँपालिका प्रमुख लक्ष्मी पाण्डे गाउँपालिकामा दोहोरिइन् । टिकट वितरणका बेला केही विवाद देखिए पनि राजनीतिलाई राम्रोसँग बुझेका हुप्सेकोट गाउँपालिका कांग्रेस सभापति बलबहादुर रानाको सुझबुझपूर्ण निर्णयले हुप्सेकोटले पुरानै नेतृत्वलाई अर्को कार्यकालका लागि चयन गर्यो ।

‘राजनीतिमा प्राप्तिमात्र होइन, त्याग पनि गर्न सक्नुपर्छ’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै सभापति रानाले पाण्डेलाई नै टिकट दिए । आफूले दाबी गरे पनि अधिकांश मतदाताको जनभावना र पाण्डेले यसअघिको कार्यकालमा गरेको कार्यको मूल्यांकनका साथै व्यक्तिभन्दा पार्टी जोगाउनुपर्छ भन्ने लक्ष्यसहित राना आफूपछि सर्नु नै हुप्सेकोटका लागि फलिफाप सिद्ध भयो । उनको नेतृत्वमा हुप्सेकोट कांग्रेसले अध्यक्ष उपाध्यक्षसहित ६ वटै वडामा ‘क्लिनस्वीप’ गर्न सफल भयो । हुप्सेकोटमा एउटा खुला सदस्यबाहेक सबै ३२ मध्ये ३१ वटा पदमा नेपाली कांग्र्रेसले जित हात पारेको छ ।

त्यसबाहेक नेकपा एमालेको उम्मेदवार छनोटमा केही कमजोरीको फाइदा पनि हुप्सेकोट कांग्रेसले उठाउन सफल भयो । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचन सिनियर नेताहरुलाई पाखा लगाउँदै नेकपा एमाले गाउँ कार्य कमिटीका चेतबहादुर राना स्वयं उठ्नु एमालेका लागि केही घातक सिद्ध भयो । उम्मेदवारी दर्ता गर्नु केही अघिसम्म आफूभन्दा बरिष्ठ नेताहरु रहेकोले आफूले टिकट नलिने भन्दै आएका रानाले अन्तिम समयमा आफैं उठ्ने निर्णय गर्नु केही हदसम्म हारको कारण मान्न सकिन्छ ।

विनयी त्रिवेणीः

गत स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमतका साथ जित हातपारेको कांग्रेसले विनयी त्रिवेणीमा पहिलेकै उम्मेदवारलाई दोहो¥यायो । तुलनात्मक रुपमा अघिल्लो कार्यकाल राम्रैसँग निर्वाह गरे पनि यसपटक दोहोरिएका उम्मेदवार पराजित हुन पुगे । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका निवर्तमान गाउँपालिका प्रमुख डम्बरबहादुर जिसी ९९ मतले पराजित बन्न पुगे । यसअघिको स्थानीय निर्वाचनमा अध्यक्ष उपाध्यक्षसहित बहुमत हासिल गरेको नेपाली कांग्रेसलाई नेकपा एमालेका घनश्याम गिरी नेतृत्वले पराजित गर्यो ।

७ वटा वडा रहेको विनयी त्रिवेणीमा यसपटक नेकपा एमालेले अध्यक्ष उपाध्यक्षसहित चार वटा वडामा जित हात पार्दा नेपाली कांग्रेसले २ वटा वडामा जित हात पार्यो भने नवलपुरमै राप्रपाले एक मात्र वडाध्यक्ष पनि यही गाउँपालिकामा जित्न पुग्यो ।

विशेष गरी अघिल्लो कार्यकालको समीक्षा र नेपाली कांग्रेसका बढी आकांक्षी रहेको विनयी त्रिवेणीमा केही हदसम्म पार्टीका कार्यकर्ताले सहयोग नगरेको भनिएको छ । तर, त्यसबारेमा गाउँ कार्य समितिले समीक्षा बैठक पनि राख्ने तयारी गरिरहेको छ ।

मध्यविन्दु नगरपालिकाः

यस क्षेत्रको एकमात्र पूर्ण नगरपालिका रहेको मध्यविन्दुमा यसपटक एमाले बहुमत स्थानमा कब्जा जमाउन सफल रह्यो । गत निर्वाचनमा कांग्रेसका चन्द्रबहादुर रानासँग झिनोमतले पराजित भएका भीमलाल अधिकारीले यसपटक फराकिलो जित हात पार्न सफल भए । मध्यविन्दुबासीमा लोकप्रिय मानिएका अधिकारी अघिल्लोपटक पराजित भए पनि यसपटक भने जित हात पार्न सफल रहे ।

नितर्वमान नगरप्रमुख चन्द्रबहादुर राना निर्विवाद भए पनि नगरको विकासका लागि गर्नसक्ने जति काम नगरेको जनगुनासो आउने गरेको थियो । पछिल्लो समय पार्टीको जिल्ला राजनीतिमा अगाडि बढेका रानाको कार्यसम्पादनको असन्तुष्टी अधिकारीले उठाउन सफल भए । त्यसका साथै कांग्रेसका जिल्ला नेतृत्वका केहीको सहयोग पनि अधिकारीलाई रहेको सुन्न पाइन्छ ।

अधिकारीको विरुद्धमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका युवा नेता सूर्य गुरुङलाई भौगोलिकताका कारण पनि केही कम मत परेको हुनसक्ने आँकलन गरिएको छ । अधिकारी मध्यविन्दुको धेरै मतदाता रहेको चोरमारा बजार नजिकैका भएका हुनाले कतिपय भौगोलिक मत पनि अधिकारीले तानेको हुनसक्ने देखिएको छ ।

मध्यविन्दुमा पनि नेपाली कांग्रेसको तुलनामा एमालेको संगठन राम्रो भएकोले पनि अधिकारीको जितमा सहायक सिद्ध भयो । त्यस्तै नवलपुरकै उत्कृष्ट निजी स्कुल नवलपुर बोर्डिङ स्कुलका सञ्चालक एवं प्रिन्सिपल रहेका अधिकारीले अधिकांश अभिभावकहरुको मन पनि जित्न सफल रहेको पाइन्छ ।

अघिल्लो पटक पनि पराजित बनेका र उम्मेदवारी दिँदा र प्रचारप्रसारको समयमा आमाको निधनका कारण दुःखमा रहेका अधिकारीले केही हदसम्म सान्त्वना मत पनि तानेका हुनसक्छन् । मध्यविन्दुमा १० वटा वडा र नगरप्रमुख उपप्रमुख एमालेले जित हात पारेको छ भने नेपाली कांग्रेसले ५ वटा वडामा जित हात पारेको छ ।

कावासोती नगरपालिकाः

अघिल्लो निर्वाचनमा पराजित बनेका नेपाली कांग्रेसका महेन्द्र पोखरेल यसपटक पनि पराजित भए । एमालेको राम्रो पकड रहेको कावासोतीमा यसपटक पोखरेलले जित्ने आशा गरिए पनि एमाले उम्मेदवारको लोकप्रियतालाई पोखरेलले चिर्न सकेनन् । एमालेबाट विष्णु भुषाले झिनो मतान्तरले कावासोती नगरको बागडोर सम्हाल्ने अवसर पाए ।