

बार निर्वाचनः लोकतान्त्रिक प्यानलको अग्रता, घिमिरेले ७७७ मत ल्याउँदा अधिकारीले ल्याए ३७२

काठमाडौं । नेपाल बार एशोसिएशनको शनिबार सम्पन्न २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहले अग्रता लिएको छ ।
उक्त प्यानलबाट अध्यक्षका लागि उम्मेदवारी दिएका गोपालकृष्ण घिमिरेले ७७७ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले भने ३७२ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म ११ केन्द्रको मतगणना सम्पन्न भइसकेको अवस्थामा लोकतान्त्रिक प्रगतिशील प्यानलले अग्रता हासिल गरेको हो । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार अहिलेसम्म सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगडी र सिरहाको मतगणना सम्पन्न भएको छ ।
सर्वोच्च अदालत बार एशोसिएशनको ३०० मत गणना भएको छ भने ललितपुर बार एशोसिएशनको १५० मत गणना भएको छ ।
महासचिवमा अन्जिता खनालले ६९७ ल्याउँदा केदारप्रसाद कोइरालाले ४४३ मत प्राप्त गरेका छन् भने कोषाध्यक्षमा भरतबहादुर राउतले ७५३ र जगतबहादुर कार्कीले ३९२ मत प्राप्त गरेका छन् ।
बुधबार बिहान ९ बजेदेखि पुनः मतगणना प्रारम्भ गरिने पनि पाठकले जनाइन् ।