

प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको गठबन्धनको निष्कर्ष

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको हो । बैठकमा आफ्नो भारत भ्रमणको विषयमा प्रधानमन्त्री देउवाले ब्रिफिङ पनि गरेका छन् ।
बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
साथै देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने बैठकले निर्णय गरेको छ ।