हिमालयन एअरलाइन्स्को चरम लापरबाही, दमाम र रियाद विमानस्थलमा कैयौं नेपाली अलपत्र
रियाद – हिमालयन एअरलाइन्स्बाट नेपाल आउने टिकट काटेका धेरै नेपाली साउदीस्थित रियाद र दमाम विमानस्थलमै अलपत्र परेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ‘स्कूप’ मारिरहेकै बेला उनकै मातहतको एक निजी विमान कम्पनीले भने साउदीको मरुभूमिमा पसिनासँग पैसा साट्न विवश सर्वसाधारणमाथि खेलवाड गरेको छ ।
नेपालबाट खाडी मुलुकहरुमा उडान गरिरहेको एकमात्र निजी कम्पनी हिमालयन एअरलाइन्स्मार्फत् नेपाल आउन टिकट काटेका यात्रुहरु एयरपोर्टमै अलपत्र परेका छन् ।
एअरलाइन्स्ले साउदी सरकारको यातायात मन्त्रालयअन्तर्गतको ‘जनरल अथुरिटि अफ सिभिल एभिएसन’ (GACA) मा समयमा नविकरण नगरेपछि टिकट काटेका यात्रुहरुलाई उडाउन नपाएको हो । हरेक देशको नियमअनुसार त्यस त्यसको नागरिक उड्डयन विभागको अनुमतिमा मात्र यात्रु बोक्न पाइने प्रावधान रहेकोले एअरलाइन्स्ले समयमै नविककरण नगरेपछि यात्रु बोक्न नपाएको जनाइएको छ ।
साउदीको दमाम र रियाद विमानस्थलमा पुगेर पनि यात्रु बोक्नका लागि अनुमति नपाएपछि एअरलाइन्स्ले ‘अपरिहार्य परिस्थितिका कारण अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि काठमाडौं–दमाम–काठमाडौं र काठमाडौं–रियाद–काठमाडौंका क्षेत्रका लागि कुनै पनि यात्रुबहाक उडान सञ्चालन गर्न असमर्थ रहेको’ ब्यहोरा जनाउँदै सूचना जारी गरेको छ ।
एअरलाइन्सले ‘अपरिहार्य परिस्थिति’ भन्दै आफ्नो व्यवस्थापकीय कमजोरीलाई ढाकछोप गर्ने प्रयास गरे पनि साउदी सरकारको नियमअनुसार GACA मा समयमै नविकरण नगरेका कारण नै उडान रद्ध गर्न बाध्य भएको स्रोतको दाबी छ ।
वैदेशिक रोजगारीका लागि खाडीको तातो घाममा काम गर्दै एअरलाइन्स्मार्फत् नेपाल आउने आशाले टिकट काटेर विमानस्थल आईसकेका यात्रुहरुलाई अहिले आएर टिकटबापतको पैसा फिर्ता र निःशुल्क रुपमा पुनः टिकटको व्यवस्थापनका लागि सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्नु भन्दै सूचना जारी गरेर जिम्मेवारीबाट पन्छिन लागेको दमाम विमानस्थलमा उड्न नपाएका एक नेपालीले बताए ।