

आज काग तिहार

काठमाडौं । हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुना कहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ ।
यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । आज बिहान ९ बजेर २२ मिनेटसम्म मात्र त्रयोदशी तिथि रहेकाले यस समयभित्र कागको पूजा गरिसक्नु पर्नेछ ।
कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्तसमेत हो ।आज घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का‘का‘।का‘भन्दै बोलाएर खान दिइन्छ ।
धर्मशास्त्रअनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम कागले नै गर्ने मान्यता रहेको छ ।