

देउवा सरकारले गर्यो प्राधिकरण कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ति, आजै पदबहाली गर्ने तयारी

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
गत भदौमा कार्यकाल पूरा गरी विदा भएका घिसिङलाई कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि प्राधिकरणमा पुनः नियुक्तिको प्रक्रिया अगाडी बढाइएको थियो । घिसिङलाई बुधबार (आजै) नियुक्ति पत्र दिने तयारी गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतले जनाएको छ ।
घिसिङले नियुक्तिपत्र बुझिसकेपछि आजै प्राधिकरणको कार्यकारी निर्देशक पदमा पदबहाली गर्ने पनि कार्यक्रम रहेको छ ।
घिसिङको नियुक्तिको विषयलाई लिएर ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले साउन १९ गते नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।
सोहीअनुसार घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । शाक्यले आयोगमा रहँदाखेरी प्राधिकरणमै पाएसरहको सुविधा पाउने पनि जनाइएको छ ।