

इजिप्टमा ८९ अतिवादी मारिएको सेनाको दाबी

कायराे – इजिप्टको सेनाले थप ८९ अतिवादीहरू मारिएको दाबी गरेको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने उत्तर सिनाइमा गरिएको कारबाहीमा अति खतरा मानिएका अतिवादीहरू मारिएको दाबी सेनाले गरेको हो ।
सुरक्षाकर्मीहरूले घटनास्थलबाट अतिवादी लडाकुले प्रयोग गरेका विस्फोटक पदार्थ, सवारी साधन, हात हतियारलगायतका सामग्री बरामद गरेको पनि सेनाले जनाएको छ । अतिवादी गतिविधि न्युनीकरण गर्ने अभियानअन्तर्गत सुरक्षा कारबाही गर्दा उनीहरूको मृत्यु भएको सेनाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
घटनामा परी सुरक्षाकर्मीतर्फ पनि केही क्षति भएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । वक्तव्यका अनुसार आठ सुरक्षाकर्मी घटनामा परेका हुन् । सो क्षेत्रमा लामो समयदेखि हिंसात्मक गतिविधिहरू हुँदै आएको छ । हिंसा नियन्त्रण गर्न भनेर सरकारले विद्रोहीविरुद्धको कारबाहीलाई बढाउँदै लगेको छ । एजेन्सी