

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित, अझै टुङ्गाे लागेन मन्त्रीकाे नाम

काठमाडौं – सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गो लगाउन आज (सोमबार) का लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज ३ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताको कारणले देखाउदै स्थगित भएको जनाइएको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याउने बताइएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी छन् । बाँकी पाँच जना मन्त्रीहरुको टुंगो आज लाग्ने माओवादी स्रोतको दावी छ ।
माओवादीको स्थायी कमिटी बैठक हिजो पनि बसेको थियो । उक्त बैठकले केन्द्रीय कमिटी बैठक १० दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको छ । उक्त मितिसम्ममा देशैभर वडा कमिटी गठन गरिसक्न पार्टीपंक्तिलाई निर्देशन समेत दिएको छ ।