

आजकाे माैसमः कहाँ–कहाँ छ बाढीको जोखिम ?

काठमाडौं – आज (सोमबार) पनि देशका धेरै भू–भागमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बर्षाका कारण आज महाकाली र कोशीका सहायक नदीहरूमा पानीको बहाव बढ्न सक्ने मौसमविदले बताएका छन् । तमोर, लिखु, खिम्ति, दूधकोशीमा बहाव बढ्ने पूर्वानुमान छ ।
बबई र तिनाउ नदीमा पनि बहाव बढ्ने छ । नारायणी, कर्णाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काई, कमला, वागमती, पूर्वी राप्ती, पश्चिम राप्तीलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, पाँचथर, बारा, पर्सा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, गोरखा, लमजुङ, तनहुँ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दैलेख, रुकुम पश्चिम, दार्चुला, बझाङ, डडेलधुरा र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।