

भीमफेदीका ३५५ कैदीमा कोरोना पोजेटिभ, खोप लगाइएका र नलगाइएका दुवै समूहमा संक्रमण

वाग्मती – मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो ।
कारागारमा रहेको ब्लक (क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको कारागारका प्रमुख नारायण पाण्डेले जानकारी दिए ।
कोरोना पोजेटिभ देखिएका कैदीलाई कारागारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाइ अलग राखिएको बताइएको छ । साथै कोरोना नभएका कैदीलाई तल्लो तलामा व्यवस्थापन गरिएको पाण्डेले बताए ।
कारागारमा रहेका अधिकांश कैदीलाई कोरोना खोप कोभिशिल्ड लगाइसकिएको भए पनि खोप लगाइएका र नलगाइएका दुवै समूहलाई कोरोना पोजेटिभ देखिएका छ ।
भीमफेदी कारागारबाट कैदीलाई नख्खु कारागारमा सार्ने क्रममा कोरोना परीक्षण गर्दा छ जनामा कोरोना पोजेटिभ देखिएपछि बैठक बसी कारागारका कैदीको बुधवार र बिहीबार परीक्षण गराउँदा कोरोना पोजेटिभ भएको मकवानपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताए ।