

आज देशभर मौसम बदली, कहाँ-कहाँ छ बाढीको खतरा?

काठमाडौं – आज (बिहीबार) देशभर मौसम बदली रहेको छ । आज विहानैदेखि देशका सबै जसो भू–भागमा बर्षा भइरहेको मौसमविदले बताएका छन् । आज देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
बर्षाका कारण आज कोशीका सहायक नदीहरु सुनकोशी, भोटेकोशी, तामाकोशी, दूधकोशी, अरुण, तमोर तथा नारायणी र यसका सहायक नदीहरु त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, माङ्दीलगायतमा पानीको बहाव उल्लेख्य बढ्ने छ । केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान छ । कन्काई, कमला, वागमती, पूर्वी राप्ती, तिनाउ र तिनका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्नेछ।
केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । आज पश्चिम राप्ती, बबईलगायतमा बहाव केही बढ्ने छ । आज बिहानको मापनानुसार नारायणी बढीगाड, रुद्रबेनी जलमापन केन्द्र र तमोर, मूलघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, सुनकोशी, सप्तकोशी, कालीगण्डकी, सेती खोला, रिदी खोलामा बहाव बढ्दो क्रममा रहेको र सबैमा सतर्कता तहभन्दा तलै रहेको जनाइएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव केही बढ्ने पूर्वानुमान छ । नदी तटीय र डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।