

जीवन विकास लघुवित्तको आईपीओको नतिजा यसै साता आउँदै

काठमाडौं । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आइपीओ) यहि साता भित्र बाँडफाँट गर्ने तयारी गरेको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले प्रिअलोटमेन्ट सम्बन्धी सम्पुर्ण काम सकाएर यहि साता भित्र आईपीओ बाँडफाँट गर्ने तयारी गरेको हो । क्यापिटल स्रोतका अनुसार डेटा भेरिफिकेशनको काम सकिसकेकाे छ ।
अब केहि दिन भित्र प्रिअलोटमेन्ट गरी शुक्रबार भित्र लघुवित्तको शेयर बाँडफाँट हुनेछ ।
लघुवित्तको आईपीओमा तीन अर्ब रुपैयाँ बराबरको तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ४८ हजार १५ कित्ताको १६.९२ गुणा हो ।
लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तको शेयर पाउनेछन् ।
त्यस अनुसार कुल आवेदक मध्ये ९१.१३ प्रतिशतले शेयर नपाउने देखिन्छ । यो अन्तिम तथ्यांक नभएकोले आवेदन दिनेको संख्या अझै बढ्नेछ ।
लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्ता मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।