

विश्व सङ्गीत दिवस मनाइँदै

काठमाडाैं – आज विश्व सङ्गीत दिवस मनाइँदै छ । कोरोना महामारीका कारण एकै ठाउँमा भेला भएर यो वर्षको ‘विश्व सङ्गीत दिवस’ मनाउन नपाए पनि सङ्गीतका पारखीहरूले सामाजिक सञ्जाल र भर्चुअल माध्यममार्फत यो दिवस मनाउँदै छन् । सङ्गीतलाई गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ।
अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो ।
पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व सङ्गीत दिवस मनाउन थालिएको हो । नेपालमा २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, लेखक–रचनाकार, सङ्गीतकार तथा सङ्गीत प्रेमीहरूको सहभागितामा सङ्गीत दिवस मनाउने गरिन्छ ।
सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक सङ्घले काठमाण्डौमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ । यस अवसरमा कला र सङ्गीतसम्बन्धी विचारशाला गोष्ठी, छलफल र सङ्गीत स्रष्टाहरूलाई सम्मानसमेत गरिने गरिन्छ ।
अहिले विश्वभर फैलिएको कोरोनाको कारण धेरैलाई मानसिक समस्यामा रहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई सङ्गीतमार्फत पनि केही हदसम्म मद्दत गर्न सकिन्छ । कोरोना सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण नेपालको साङ्गीतिक क्षेत्रमा निक्कै ठूलो असर परेको छ ।