महामारीमा गोर्खा ब्रुअरीको प्रयासः सिंगापुरबाट आयो २५ करोडबराबरको स्वास्थ्य सामग्री
काठमाडौं । सामाजिक क्षेत्रमा सधैंझैं अग्रगामी भूमिका खेल्दै आएको गोर्खा ब्रुअरीले यस कोरोना महामारीको समयमा पनि उदाहरणीय कार्य गरेको छ । ब्रुअरीकै सक्रियतामा सिंगापुरबाट २५ करोड रुपैयाँबराबरको स्वास्थ्य सामग्री सहयोग नेपाल आएको छ । गोर्खा ब्रुअरीसँगै सिंगापुरका तामासेक फाउन्डेसन र लोटस लाइफ फाउन्डेसन, कूटनीतिक नियोगहरू र प्रवासी नेपालीको सहकार्यमा सहयोग प्राप्त भएको हो ।
सहयोग सामग्री दाताहरूका तर्फबाट ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।
सहयोग सामग्रीमा १ लाख २३ हजारभन्दा बढी सिंगापुरको विज्ञान प्रविधि र अनुसन्धान एजेन्सीले डिजाइन गरेको फोर्टिट्युड ३।० पिसिआर परीक्षण रहेको छ । त्यस्तै, ए स्टार ५ हजार बाकस, सिटोटेस्ट स्वाब किट्स २ लाख ५० हजार, २ थान म्याजेक, ३२ आरएनए निकसी मेसिन, २ हजार ५ सय निकासी किट र रिएजेन्ट्स रहेको जनाइएको छ ।
सहयोगमा ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल वि–पिएपी, नन–इन्भेसिभ भेन्टिलेटरहरू र ४ हजार पल्स अक्सिमिटर रहेको कम्पनीले जनाएको छ । मेडिकल आपूर्तिको दोस्रो कार्गो केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
तामासेक फाउन्डेसन इन्टरनेसनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले एक वक्तव्य जारी गरेर कोभिड–१९ का विभिन्न भेरियन्टहरूबाट भर्खरै देखिएका अवस्थाहरूबाट हामीले जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तर सँगै मिलेर काम गरिरहनु आवश्यक रहेको उल्लेख गरेको जनाइएको छ ।
तामासेक फाउन्डेसन महामारीको विरुद्ध विश्वव्यापी युद्ध लड्न नेपालका मित्र र छिमेकीहरूसँग एकसाथ रहेको उल्लेख गरेको जनाइएको छ । फाउन्डेसनले ०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्युड २।० पिसिआर कोभिड–१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको जनाइएको छ ।