

इजिप्टको प्रस्तावमा इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

जेरुसेलम – इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । दुई देशबीचको सहमतिअनुसार स्थानीय समय अनुसार शुक्रवार बिहान २ बजे अर्थात आज बिहानदेखि युद्धविराम शुरु भएको बीबीसीले जनाएको छ ।
इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति गरेका हुन् । थप वार्ताका लागि इजिप्टले इजरायल र प्यालेस्टाइनमा प्रतिनिधिहरु पठाउने बताइएको छ ।
प्यालेस्टाइनले केही दिनदेखि युद्धविरामको पहल गरिरहे पनि इजरायलले मानेको थिएन । अहिले पूर्वसर्त बिना युद्धविरामका लागि इजरायलले सहमति जनाएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामप्रति खुशी व्यक्त गर्दै इजरायलले आफ्नो सुरक्षाका अधिकार प्रयोग गर्नेमा विश्वास रहेको बताएका छन् ।
दुई देशबीच भएको ११ दिनको युद्धमा प्यालेस्टाइनको गाजा क्षेत्रमा कम्तीमा २२७ जनाको ज्यान गएको छ भने हमासको आक्रमणबाट इजरायलतर्फ १२ जनाको ज्यान गएको छ । दुवैतर्फ ठूला भवन लक्षित रकेट तथा हवाई आक्रमणहरु भएका छन् ।