लकडाउनको हल्लाले लगानीकर्ताको मनोबल खस्कियो, सेयर बजारमा उच्च गिरावट



काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ अंकमा झरेको छ ।

आइतबार २ सय १५ वटा कम्पनीको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर खरिद–बिक्री हुँदा ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बढ्दो कोभिड संक्रमण र लकडाउनको हल्लाका कारण सेयर बजारमा उच्च गिरावट आएको हो । तर, उच्च गिरावटका बीच पनि कुमारी बैक, महिला लघुवित्त, विशालबजार, कालिका पावर कम्पनीलगायत केही कम्पनीको सेयर मूल्य भने बढेको छ ।

२ सय १५ वटा कम्पनीको सेयर कारोबार भएकोमा ६ वटा कम्पनीको मात्र मूल्य बढेको छ । आइतबार नेप्सेसँगै समूहगत परिसूचक पनि ओरालो लागेको छ ।

यसदिन बैंकिङ ४२.६५, व्यापार ११३.५५, होटल तथा पर्यटन २२०.२७, विकास बैंक ८६.३४, जलविद्युत् ११२.४१, फाइनान्स कम्पनी ४३.७७, निर्जीवन बिमा ४४०.८७, उत्पादन १३६.२१, अन्य ४७.१३, लघुवित्त १६०.६५, जीवन बिमा ४६०.०४ , सामूहिक लगानी कोष ०.०९ र लगानी ३.३५ बिन्दुले घटेको छ ।

कोभिडको दोस्रो लहरको संक्रमण वृद्धि र लकडाउनको हल्लाले लगानीकर्ताको मनोबल खस्किएको छ । गत साता पनि आइतबार, सोमबार र बुधबार नेप्से उच्च अंकले घटेको थियो । गत आइतबार र सोमबार ३५ र ३७ अंकले घटेको नेप्से बुधबार ३२ अंकले घटेको थियो ।