एकैदिन १ लाख ९५ हजार बढीमा कोरोना संक्रमण, अमेरिकामा मात्रै ५० हजार बढी संक्रमित
काठमाडौं । पछिल्लो २४ घन्टामा विश्वभर कोरोना भाइरसका नयाँ संक्रमित अहिलेसम्मकै धेरै देखिएका छन् । अमेरिकामा एकैदिन नयाँ संक्रमित ५० हजार नाघेका छन् ।
पछिल्लो तथ्यांकअनुसार अमेरिकामा गत २४ घन्टामा ५० हजार ३ सय २ जना नयाँ संक्रमित देखिएका छन् भने ब्राजिलमा ४४ हजार ८ सय ८४ जना नयाँ संक्रमित देखिएका छन् ।
त्यस्तै रसियामा भने ६ हजार ५ सय ५६ जना नयाँ संक्रमित देखिएकोमा भारतमा १९ हजार ४ सय २८ जना देखिएका छन् । यससँगै विश्वभर १ लाख ९५ हजार ८ सय ५१ जना नयाँ संक्रमित देखिएका छन् । हालसम्म विश्वमा १ करोड ७ लाख ९३ हजार ४७ जना संक्रमित देखिएका छन् ।
गत २४ घन्टामा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ३५ पुगेको छ । यससँगै विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ५ लाख १८ हजार ४६ जना पुगेका छन् ।
सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा हालसम्म मृत्यु हुनेको संख्या १ लाख ३० हजार ७ सय ८९ पुगेको छ भने त्यसपछि ब्राजिलमा मृत्यु हुनेको संख्या ६० हजार ७ सय १३ रहेको छ । त्यस्तै मृतकसूचीको तेस्रो स्थानमा बेलायत रहेको छ । बेलायतमा हालसम्म ४३ हजार ९ सय ६ जनाको मृत्यु भइसकेको छ ।