

लकडाउन साउन ७ सम्म लम्बिने, हवाइ सेवा तत्काल नखुल्ने

काठमाडाैं । सरकारले अहिलेको जस्तै लकडाउन साउन ७ सम्मका लागि लम्ब्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय गरेको एक स्राेतले जनायो ।
काेराेनाकाे जाेखिम अवस्था हेरेर लकडाउन खुकुलाे या कडा गर्नेबारेकाे निर्णय प्रदेश र स्थानीय सरकारले नै गर्ने पनि जनाइएको छ । सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियाे।
जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन्। साउन ७ सम्मका लागि हवाइ सेवा नखुल्ने पनि जनाइएको छ ।
त्यस्तै सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द अवस्थामा छन्।