आत्मालोचनासहित दलमा फर्कन आग्रह गर्दै सकियो एमाले संसदीय दल बैठक



काठमाडौं। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको एमाले संसदीय दलको बैठक सकिएको छ। बैठकले गुटगत भेला नगर्न र पाटीवाहेक अरुको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ। संसदीय दलको निर्देशन नमाने कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन पनि सांसदहरुलाई आव्हान गरेको छ। दलको निर्देशन नमाने विधानअनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय पनि संसदीय दलको बैठकले गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए। उनले भने, ‘बालुवाटारमा सम्पन्न एमाले संसदीय दलको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ। पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरुलाई सचेत गराउने निर्णय भएको छ।’

सांसद बस्नेतले एमाले संसदीय दलको बोर्ड गठन भएको पनि बताएका छन्। बोर्डमा २७ जना सदस्य रहने पनि उनले बताए। त्यस्तै एमाले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्ने भएको छ। बिहीबारको बैठकमा झलनाथ खनाल(माधवकुमार नेपाल पक्षका केही सांसद पनि सहभागी भएको बताइएको छ। खनाल(नेपाल पक्षले भने बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ।