रंगशाला बनाउन धुर्मुस-सुन्तली फाउन्डेशनले थाल्यो मेची-महाकाली घरदैलो अभियान

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट चितवनको भरतपुर मा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सबैको अपनत्व र योगदान रहोस भन्नाका लागि मेची महाकाली अभियान सुरु हुने भएको छ ।

पुर्व मेचिदेखी पश्चिम महाकाली सम्मको घरदैलो अभियान यहीँ चैत्र १० गतेदेखि सुरु हुने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए । रंगशाला निर्माणको लागि सहयोग गर्न चाहने महानुभावहरुको घरदैलो मैं पुगेर सहयोग संकलन गर्न लागिएको पनि धुर्मुसले बताए ।

‘रंगशालाभित्र निर्माण हुने सातै प्रदेशको बिम्ब झल्कने ७ वटा स्तम्भ र ७७ वटै जिल्लाहरुको कक्ष निर्माण गरिने भएको हुँदा हरेक जिल्लाले आ–आफ्नो जिल्लाको कक्ष निर्माण गर्नका लागी सहयोग रकम जुटाउन सकोस् भन्ने अभिप्रायका साथ घरदैलो अभियान संचालन गर्न लागिएको हो’, उनले भने । चैत्र १० गते देखि कंचनपुरबाट सुरु हुने अभियानमा प्रत्येक जिल्लामा २ दिन सम्म बसेर त्यहाँ रहेका सहयोगिमन, संघसंस्था , बितिय संस्थाहरु , सहकारी , महिला तथा आमा समुह , विभिन्न समुहहरु र स्थानीय सरकारसंग हातेमालो तथा सहकार्य गरिनेछ ।

यो घरदैलो अभियानमा फाउण्डेशनका अध्यक्ष धुर्मुससँगै लोकप्रिय कलाकारहरु कुमार कट्टेल (जिग्रि), अर्जुन घिमिरे (पाँडे), सामाजिक अभियान्ताहरु निगम  हुमागाई, अर्जुन भुसाल र जिल्लास्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देल रहने भएका छन् ।

पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म संचालन हुने यो अभियानमा सबैजना जोडिन सकिने र आफुले सहयोग गर्न चाहेको रकम आफ्नै जिल्लाको कक्ष निर्माणमा सहयोग हुने धुर्मुसले बताए । साथै ३० हजार दर्शक क्षमताको रंगशालामा रहेको ३० हजार कुर्सीमा आफ्नै नाम, पितृको नाममा, आमा समूहको नाममा, महिला समूहको नाममा, टोल विकास संस्थाको नाममा, सहकारी संस्था, बैंक तथा वितिय संस्था को नाममा, उद्योग, विद्यालय, क्याम्पस, लगायत विभिन्न साथी समुहको नाममा सुरक्षित गर्न सकिने पनि धुर्मुस बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *