एकबिहानै आएको पहिरोले गोठसहित भैंसी र पाडो पुरेपछि…
सिन्धुपाल्चोक । अविरल वर्षाका कारण आज बिहान आएको पहिरोले गोठ पुर्दा २ घरपालुवा जनावर पुरिएका छन् ।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित लप्से–आहालमा आइतबार बिहान ४ः४५ बजे आएको पहिरोले स्थानीय तीर्थबहादुर श्रेष्ठको गोठमा रहेका एउटा भैंसी र एउटा पाडो पुरिएको हो । साथै पहिरोले गोठमा रहेका भाँडाकुँडा पनि पुरिएका छन् ।
अविरल वर्षाका कारण जमिन चिरा परेर आएकोे पहिरोले घरसँगैको गोठ बगाएपछि घर पनि अब जोखिममा परेको छ । पहिरोबाट पुरिएका जनावरलाई प्रहरी र स्थानीयहरूले मृतावस्थामा निकालेका थिए ।
पहिरोले तीर्थबहादुरका साथै अक्कल बहादुर श्रेष्ठ र गोकर्ण बहादुर श्रेष्ठको घर पनि जोखिममा परेको छ ।
