ज्यानको परवाह नगरी कर्तव्य निभाउन हिँडेकाहरु…
काठमाडौं – मंगलबार एकबिहानै पछिल्लो समय चीनसँग नेपालको सबैभन्दा ठूलो व्यापारिक नाका मानिएको रसुवाको केरुङ नाकास्थित मितेरी पुल नै बगाउने गरी ठूलो बाढी आयो । नेपालतर्फ सामान्य वर्षा पनि नभएको बेला एक्कासी आएको बाढीका कारण नेपालले ठूलो जनधनको क्षति ब्यहोर्नु पर्यो ।
कुनै पनि विपत्मा जनताको रक्षाको लागि सबैभन्दा अगाडि खटिने भनेको सुरक्षाकर्मी नै हुन् । आँधी, बाढी, पहिरो, आगलागीका साथै अनेकौं विपत्सँग जुध्दै जनधनको सुरक्षार्थ खटिने गरेका सुरक्षाकर्मी नै विपत्को शिकार बन्ने गरेका घटनाहरु नयाँ होइनन् । र, भयो यस्तै मंगलबार रसुवागढीमा ।
मंगलबार बिहान रसुवागढीमा स्थानीयको उद्धारमा खटिएका प्रहरी सहायक निरिक्षक (असई) लालबहादुर श्रेष्ठ सधैं इलाका प्रहरी कार्यालय टिमुरेको लेखा व्यवस्थापनमै व्यस्त हुन्थे, तर विपतका बेला फिल्डमा खटिनुपर्ने कर्तव्यलाई आत्मसाथ गर्दै खटिएका थिए । तर, उनलाई के थाहा चिनबाट आएको बाढीको शिकार आफैं बन्नुपर्छ भन्ने ? उनी त्यही बाढीमा बेपत्ता भए । साँझ एक्कासी चितवनको मुग्लिङ–नारायणगढ खण्डको १५ किलोभन्ने स्थानमा उनको शव भेटियो ।
त्यस्तै उक्त घटनामा उद्धारमा खटिएका अर्का प्रहरी जवान हुन् लोकेन्द्र बोहोरा । बझाङको बुंगल नगरपालिका वडा नं. ९ का २३ वर्षीय लोकेन्द्र पनि रसुवा बाढीमा परेकाको उद्धारमा खटिएका थिए । टिमुरे चौकीमा कार्यरत बोहोराको अवस्था अहिलेसम्म अज्ञात नै छ । एक महिना अघि मात्रै टिमुरेमा सरुवा भएका बोहोराको खोजी जारी नै रहेको छ ।
त्यस्तै अर्का जवान मुन्ना ठाकुर पनि सो उद्धारमै खटिएका बेलादेखि सम्पर्कमा रहेका छैनन् । बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. १ घर भएका ठाकुर पनि कर्तव्य पालनाकै शिलशिलामा खटिएका बेला सम्पर्कबाहिर पुगेका हुन् । उनको पनि खोजी जारी नै रहेको प्रहरीले जनाएको छ ।
सो घटनामा ६ चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । रसुवा प्रहरीका अनुसार अहिलेसम्म धनको क्षतिको तथ्यांक नभए पनि १८ जना बेपत्ता भएको जनाइएको छ । ती ९ जनाको शव भेटिएको भनिए पनि अधिकांश शवहरु चिन्न नसकिने अवस्थाका रहेका छन् ।
बाढीका कारण केरुङ नाकाको भन्सारको पार्किङस्थलमा राखिएका दर्जनौं सामानसहितका गाडीहरु त्रिशुलीमा बग्न पुगे । त्यसबाहेक चीनबाट नेपाल आयात गरिएका इभी गाडीहरु पनि बगाएको जनाइएको छ, तर त्यसको आधिकारिक र वास्तविक तथ्यांक भने आइसकेको छैन ।
आशा एवं कामना छ, सम्पर्कमा नभएकाहरुको सकुशल भेटिउन् अनि बाँकीको वास्तविकता सकेसम्म छिटो पत्ता लागोस् ।
