

चिनियाँ र भारतीय राजदूतले भेटे देउवालाई

काठमाडौं – संसद् पुनर्स्थापना भएर नयाँ सरकार गठनको कसरत भइरहेका बेला चीन र भारतका राजदूतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनय मोहन क्वात्राले देउवालाई उनकै निवास (बूढानीलकण्ठ) मा पुगेर भेटेको स्रोतले जानकारी दिएको छ । उनीहरूले नेपालको नयाँ राजनीतिक घटनाक्रमबारे कुराकानी गरेको स्रोत बताउँछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा सर्वाेच्च अदालतले पुनर्स्थापना गरेपछि अहिले कांग्रेसका सभापति देउवासँग भेटघाट गर्नेहरूको संख्या बढेको छ ।
बुधबार मात्र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उनलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । यस क्रममा चीन र भारतका राजदूत पनि सक्रिय भएका हुन् । नेपालमा नयाँ सरकार गठनका लागि मुख्य भर देखिएको कांग्रेससँग दुवै देशका राजदूतले भेट गरेका हुन् ।