

काठमाडौंमा फेरि बर्डफ्लु पुष्टि, कुखुरा र दाना नष्ट

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि वर्डफ्लु संक्रमण देखिएको छ । तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका पाँच वटा व्यवसायिक कुखुरा फार्ममा वर्डफ्लु पुष्टि भएको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्रमणि ढकालले जानकारी दिए ।
बर्डफ्लु देखिएपछि बिहीबार त्यहाँका साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । प्रवक्ता ढकालका अनुसार कमल गौतमले पालेका अण्डा नपार्ने लेयर्स कुखुरा २ हजार ९ सय ५५ वटा, अण्डा पार्ने लेयर्स २ हजार ७ सय २ वटा, अण्डा ३ हजार ५ सय ७० वटा र दाना १ हजार ४ सय ५० किलो नष्ट गरिएको छ ।
यसैगरी सरिता शाहले पालेका बोइलर कुखुरा २ हजार ९ सय ६० वटा, दाना ७ सय ५० किलो, सम्झना ठकुरी तिवारीले पालेका बोइलर कुखुरा २ हजार ७६ वटा, लोकल कुखुरा १ सय ७ वटा नष्ट गरिएको छ ।
अमृत थापाले पालेका २ हजार २ सय चल्ला र १५० किलो दाना तथा शान्ता खनालले पालेका लोकल कुखुरा एक सय वटा र टर्की दुई वटा पनि नष्ट गरिएको छ । पशुसेवा विभागका प्रवक्ता ढकालले आज (शुक्रबार) भने, ‘अहिले हामी (केन्द्रीय बर्डफ्लु समन्वय समितिको) बैठक बसिरहेका छौं । केही समयपछि विस्तृत जानकारी सार्वजनिक गछौं ।’
तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पशुसेवा विभागले जनाएको थियो । अहिले फेरि त्यही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएको हो । तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको बताए ।