

एकै वर्ष विदेश पढ्न जान्छन् ६३ हजार, अस्ट्रेलिया जानेको संख्या सर्वाधिक

काठमाडौं – नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ ।
सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो ।
शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष अष्ट्रेलियामा ‘नो अब्जेक्सन’ लिने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । असार मसान्तसम्म अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या ३६ हजार ३ सय २४ रहेको छ । अन्य देशको तुलनामा अष्ट्रेलिया जाने विद्यार्थीको संख्या करिब ७० प्रतिशत बढी रहेको छ ।
अष्ट्रेलियामा अध्ययनसंँगै रोजगारीको अवसर पाउने भएपछि विद्यार्थीको संख्या बढेको शाखाले जनाएको छ । अष्ट्रेलियामा तुलनात्मक रुपमा सजिलै भिषा पाउने भएपछि त्यहाँ जानेको संख्या बढ्न थालेको शाखा प्रमुख महेश्वर शर्माले बताए ।