

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः इन्स्पेक्टर जोशी र हवल्दार शाही थुनामा

पोखरा । सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गर्न संलग्न रहेको अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।
महतलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशी र पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हबल्दार रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार जोशी र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
इन्स्पेक्टर महत फागुन १० गते हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै उनकै भाइ विनोदले मृत भेटिएको भोलिपल्टै किटानी जाहेरी दिएका थिए ।