हे दैव ! स्वागत मन्तव्य गर्नासाथ ढलेका मियाँले लिए संसारबाटै बिदा
कावासोती । दैव पनि कस्तो ? कार्यक्रमका सहभागीलाई स्वागत गरेर मञ्चबाट ओर्लिएका व्यक्तिले आफूले नै स्वागत गरेको कार्यक्रममा मात्र होइन कि संसारबाटै बिदा लिन पुगे ।
नवलपरासी (बर्दघाट—सुस्तापूर्व)को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ।
आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेका उनको हृदयघातका कारण मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरिले बताए।
राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए। उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषित गरेका सदस्य गिरिले बताए।
३७ वर्षीय उनकी श्रीमती, तीन छोरी र एक छोरा छन्। राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित भएका थिए।