एक वर्षीय छोरीको हत्याको आरोपमा आमासहित ५ जना पक्राउ



बुटवल – रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा १ वर्षीय बालिकाको हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २१ वर्षीय प्रेमा यादवसहित उनका ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान राजकुमार यादव र प्रेमाका साथी लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदिप चौधरी लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रेमाले छोरीको हत्या गरी आफूले आत्महत्या गर्ने मनसाय बनाएर घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रेमाले आफ्नो कोठामा पंखामा बाँधिएको डोरीमा छोरीलाई झुण्ड्याएर आफुले समेत सोही डोरीमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । बालिकाको शव भने नजिकैको खोलामा लगेर गाडी सकेको जानकारी प्राप्त भएपछि तत्काल प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।

प्रहरीले दानव खोला नजिक बालिकाको शव फेला परेको थियो । प्रहरीले थप अनुसन्धानको लागि पक्राउ पर्नेहरुमाथि अदालती प्रकृया अगाडि बढाएको छ ।