

ड्युटीमै आफैंमाथि हाने गोली प्रहरी जवान विष्टले

धनगढी । कञ्चनपुरमा एक प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन् ।
बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् ।
साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेमा उनले आफैंमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिएका छन् । सो समयमा हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा खटिएका थिए ।
गोली दाहिने कानभन्दा माथि लागेको डीएसपी उमेशराज जोशीले जनाएका छन् । गोली लागेर उनी गम्भीर छन् । उनले आफैंले बोकेको एसएलआर राइफलबाट गोली चलाएको पाइएको प्रहरीले जनाएको छ । विष्टलाई महाकाली अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको छ ।