

भीरबाट लडेर बैतडीका बाेहराकाे मृत्यु

बैतडी । बैतडी घर भएका एक युवकको भीरबाट लडेर भारतमा निधन भएको छ ।
जिल्लाको सिगास गाउँपालिका–८ लुपुण मल्लाडौडका २८ बर्षीय प्रेमसिंह बोहराको भीरबाट लडेर मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले बताए ।
भारतको पिथौरागढमा काम गर्दै आएका बोहरा मंगलबार साँझ ५ बजेतिर काम सकेर कोठातर्फ फर्कने क्रममा भीरबाट लडेका थिए । भीरको बाटोबाट लडेका बोहरा करीब १५० मिटर तल खसेका थिए ।
भीरबाट लडेर गम्भीर घाइते भएका बोहरालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
करीब डेढ महिना पहिलामात्रै रोजगारीका लागि भारतको पिथौरागढ गएका बोहराको उतै मृत्यु भएपछि घरपरिवारको विचल्ली भएको छ । मृतक बोहराको घरमा श्रीमती र चार जना छोराछोरी रहेका छन् । त्यस्तै उनका आमा–बुवा छोराको मृत्युको खबरले विक्षिप्त बनेका स्थानीय सूर्यबहादुर बोहराले बताए ।
घरको जेठो र कमाउने छोराको भारतमा निधन भएपछि परिवार शोकमा डुबेको बोहराले बताए । गाउँको युवा परदेशमा अस्ताएपछि लुपुण गाउँ शोकमा डुबेको छ ।
बैतडीको विभिन्न स्थानका नागरिकहरुको मौसमी रोजगारीको खोजीमा भारतको झुलाघाट, पिथौरागढ लगायतका क्षेत्रमा जाने गर्दछन् । हिउँदको समयमा भारतीय क्षेत्रमा काम गरेर उनीहरु बिसुका लागि घर फर्कने गरेका छन् ।
रोजगारीका लागि सीमावर्ती भारतीय क्षेत्रमा काम गर्नेहरुमध्ये कतिपयले अकालमै ज्यान गुमाउने गरेको बोहराले बताए ।