

ऊर्जा मन्त्रीमाथि सिंहदरबारभित्रै आक्रमण, किन गरे हरिले हातपात ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै गत शुक्रबार आक्रमण भएको घटना सार्वजनिक भएको छ । सो घटना करिब एक हप्तासम्म गुपचुप नै राखिएको थियो ।
तर बिहीबार मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आफूमाथि आक्रमण र दुर्व्यवहार भएको घटनाबारे जानकारी गराएका थिए ।
मन्त्री खड्कालाई गोरखाको अजिरकोट गाउँपालिका-५, मुच्चोकका हरि पोखरेलले पुस २६ गते कार्यकक्षबाट बाहिरिँदै गर्दा हातपात गरेका थिए । त्यसपछि प्रहरीले पोखरेललाई नियन्त्रणमा लिएको थियो ।
पोखरेललाई प्रहरीले पक्राउ गरेर सिंहदरबार वृत्तमा बुझाएको थियो । तर मन्त्री खड्काले मानसिक समस्या भएको व्यक्ति रहेको भन्दै प्रहरीलाई छोड्न भनेका थिए ।
सोही आदेश अनुसार शनिबार छोडिएको प्रहरी स्रोत बताउँछ । मन्त्री खड्काले नै प्रहरी संयन्त्रलाई घटनाबारे बाहिर हल्ला नगर्न आग्रह गरेको बताइएको छ ।
उनी नेपाल टेलिभिजनको कार्ड बोकेर सिंहदरबार प्रवेश गरेको खुलेको छ । कुनै समय महानायक राजेश हमाललाई राखेर कान्तिपुर टिभीमा क्विज मानिया कार्यक्रम चलाउने पोखरेलले मन्त्री खड्कामाथि किन आक्रमण गरे भन्ने बारे केही खुल्न सकेको छैन ।
ती व्यक्तिले गत निर्वाचनमा गोरखाबाट गण्डकी प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएको पनि खुलेको छ । पोखरेललाई चुनावमा गोरखा पुगेरै महानायक हमालले समर्थन गरेका थिए ।