

रविलाई फेरि पठाइयो हिरासत, आजको बास काठमाडौं प्रहरी परिसर भद्रकाली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ।
जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो।
रास्वपा सभापति लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ।