

आज युएईविरुद्ध खेल्दै नेपाली महिला क्रिकेट टिम

काठमाडौं । आईसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्ने भएको छ ।
नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यु-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुनेछ । यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।