रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति



काठमाडौं । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

तिहार बिदा सकिएपछि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । अदालतले तिहार बिदाको ५ दिन  हिरासतसहित जोडेर कात्तिक २३ गतेसम्मका लागि प्रहरीलाई अनुसन्धानको अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत रविविरुद्ध अनुसन्धानका लागि थप २५ दिन समय मागेको थियो ।

रविका साझेदार पूर्वडीआईजीसमेत रहेका जोशी असोज ६ देखि कास्की प्रहरीको हिरासतमा छन् । उता कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा हिरासतमा रहेका लामिछाने र जोशीसँगै पक्राउ परेका अन्य लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

रविसँगै उनका व्यावसायिक साझेदार तथा गोर्खा मिडियाका लगानीकर्ता छविलाल जोशीका साथै लीला पछाईं र रामबहादुर खनाललाई पनि समान थप १० दिन नै हिरासतमा राख्ने अनुमति दिएको छ ।