

कारसहित पोखरीमा डुबेका २ जनाको मृत्यु, एकजना पौडिएर बाँचे

सर्लाही । सर्लाहीको बयलबासबाट महोत्तरीको गौशलातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा बेपत्ता चालकसहित २ जनाको ज्यान गएको छ । कारमा रहेका एकजना भने पौडिएर बाँच्न सफल भएका छन् ।
आज बिहान ईश्वरपुर नगरपालिका–२ मियाँखोरको सरस्वती माध्यामिक विद्यालयको पोखरीमा अनियन्त्रित भई कार डुबेको थियो । कार पोखरीमा डुब्दा बेपत्ता भएका कार चालक गौशाला नगरपालिका–१० सुरेश महतो र महोत्तरीको सोनमा गाउँपालिका–८ का रामाकान्त ठाकुरको ज्यान गएको छ ।
सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव निकालेका हुन् । महोत्तरीको गौशाला नगरपालिका–२ का जनक यादव भने पौडिएर निस्किएका थिए ।
पानीमा डुबेको कार पनि फेला परेकोले निकाल्ने प्रयास भइरहेको बर्दिबासको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गएको गोताखोरले जनाएको छ ।