बौंदीकालीको सिउनमा साताव्यापी भलिबल र नृत्य प्रतियोगिता हुँदै



नवलपुर । सिउन युवा क्लबको आयोजनामा शुद्ध साविक वडास्तरीय पुरुष र भेट्रान्स भलिबल प्रतियोगिता आयोजना हुँदैछ । बौंदीकाली गाउँपालिका वडा नं. ३ रकुवास्थित सिउन युवा क्लबले विजयादशमीको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्न लागेको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ दशैंका अवसरमा आयोजना गर्न लागिएको साताव्यापी कार्यक्रम यही असोज २४ गतेदेखि कात्तिक १ गतेसम्म हुने भएको छ ।

भलिबल प्रतियोगिताका विजयी टिमलाई ४५ हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई १५ हजार नगदसहित मेडल र ट्रफी दिइनेछ भने भेट्रान्सतर्फको विजेता टिमलाई बोका, द्वितीयलाई २ वटा कुखुराको भाले पुरस्कार दिइने जनाइएको छ ।

साथै कार्यक्रममा खुल्ला नृत्य प्रतियोगिता पनि आयोजना गरिने जनाइएको छ । त्यसका लागि प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ६ हजार ३ हजार र १ हजार पाँच सय पुरस्कार दिइने पनि जनाइएको छ ।

साथै कार्यक्रमको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन सांस्कृतिक कार्यक्रम पनि गरिने क्लबका अध्यक्ष विजय रानाले जनाए । उनले कार्यक्रममा सुमन खड्का, मधु थापा मगरलगायतका राष्ट्रिय कलाकारको प्रस्तुती रहने पनि जनाए ।