

नागढुङ्गा-मुग्लिङ-नारायणगढ खण्डमा सवारी सञ्चालनमा बन्देज

चितवन – वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्वारा जारी सूचनामा सो सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो ।
सूचनामा भनिएको छ, ‘सवारी धनी एवं यात्रु महानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।’
शुक्रबार काठमाडौंतर्फ जाँदै गरेका सवारी साधन मौसम प्रतिकूलताका कारण आइतबारसम्म आँपटारीमा नै रोकिनुपर्ने अवस्था भएको भन्दै सिञ्जालीद्वारा जारी सूचनामा यात्रुलाई धैर्यधारण गरी बस्न अनुरोध गरिएको छ ।
अत्यावश्यक कामबाहेक नदी तटिय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्रै रातको समयमा सो सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको थियो ।
विपद्जन्य घटना भए प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।