

काभा यू–२० भलिबलः बौंदीकालीका विश्वास नेपाली राष्ट्रिय टिममा

काठमाडौं । काभा यु—२० पुरुष भलिबल च्याम्पियनसिपका लागि बौंदीकाली गाउँपालिका वडा नं. ३ का विश्वास अधिकारी पनि छनोट भएका छन् ।
श्रीलंकाको कोलम्बोमा हुन गइरहेको काभा यु—२० पुरुष भलिबल च्याम्पियनसिप—२०२४ का लागि घोषित नेपाली राष्ट्रिय टिममा अधिकारीसहित १२ खेलाडीको नाम सार्वजनिक गरिएको छ ।
बिहीबार नेपाल भलिबल संघले १२ सदस्यीय नेपाली भलिबल टिमको घोषणा गरेको हो । टिममा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली र विश्वास अधिकारी परेका छन् । यस्तै, सागर रसौली, अशोक राना,जितबहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुँवर टिममा परेका छन् ।
बन्द प्रशिक्षणमा सहभागीमध्येबाट भलिबल संघले १२ सदस्यीय टिम छनोट गरेको हो । काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिप ४ देखि १२ अक्टोबरसम्म श्रीलंकाको कोलोम्बोमा हुनेछ । नेपालको यु—२० पुरुष भलिबल टिमले पहिलोपटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।