

एसईई दिन आएका थिए प्रहरी जवान महेन्द्र, जसले गुमाए ट्रकको ठक्करबाट ज्यान

बाँके । ट्रकको ठक्करबाट ज्यान गुमाएका प्रहरी जवान एसईईको पूरक परिक्षा दिन कार्यालयबाट बिदा लिएर आएको खुलेको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान महेन्द्र विकको उपचारका क्रममा मृत्यु भएको हो ।
यही वैशाखमा वैवाहिक बन्धनमा बाँधिएका विकले चलाएको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनी एसईई दिएर गर्भवती बहिनीलाई भेट्न आउँदै गर्दा दुर्घटनामा परेका थिए ।
शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जीगाउँ चोकमा भे १ क २०६२ नम्बरको ट्रकले बा। प्र ०३–००५– प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सल्यानको प्रहरी चौकी कपुरकोटमा कार्यरत विक सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ९ का हुन् ।
उक्त दुर्घटनामा उनकै नाताले दाई पर्ने हेमबहादुर विक गम्भीर घाइते भएका छन् । उनको आईसीयूमा गम्भीर अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।
मृतक विक घरका एकमात्र छोरा रहेको पनि खुलेको छ ।