

काँधमा फुली थप्ने रहर पूरा नभई बिदा भए डिआईजी पोखरेल

काठमाडौं । नेपाल प्रहरीमा बरियताको दोस्रो उच्चतम पद अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) का लागि सिफारिस भएका प्रहरी नायब महानिरीक्षक (डिआईजी) पोषराज पोखरेल अन्ततः डिआईजीबाटै अवकाश पाएका छन् ।
एआईजीमा बढुवाका लागि सिफारिस भएका उनी मन्त्रिपरिषद् बैठकले बढुवा नगरेपछि डीआईजीबाटै अवकाश पाएका हुन् ।
डीआईजीको ५६ वर्षे उमेर हदका कारण उनले अवकाश पाएका हुन् । गृहसचिव नेतृत्वको बढुवा समितिले पोखरेललाई असार १० मा एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । यदि उनलाई बढुवा गरेको भए २ दिनका लागि मात्रै एआईजीमा काम गर्ने थिए । तर, उनको काँधमा फुली थप्ने चाहनालाई मन्त्रीपरिषद्ले पूरा भने गरिदिएन ।
पछिल्लो समय सत्ता समीकरणमा आएको परिवर्तनसँगै उनको एआईजी हुने सपना पूरा नभएको कतिपय जानकारहरु बताउँछन् ।
ट्राफिक प्रहरी कार्यालयले बिहीबार उनलाई बिदाइ गरेको बताइएको छ ।