

निद्रामै लग्यो दुर्गा र ३ वर्षीया छोरीको घरभित्रै पहिरोले ज्यान

स्याङ्जा । दिनभरीको कामको थकानपछिको विश्राम र अर्को उज्यालो बिहानको कल्पना गर्दै ३ वर्षीया छोरी च्यापेर सुतेकी स्याङ्जा फेदिखोलाकी दुर्गाले अर्को बिहान देख्न पाइनन् ।
अविरल वर्षपछि घरमै आएको पहिरोले छोरीसहित दुर्गाले ज्यान गुमाएकी छिन् ।
शुक्रबारसाँझदेखि परेको वर्षाका कारण दुर्गाको घरमाथिबाट आएको पहिरोले दुर्गासहित छोरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
फेदिखोला-५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो ।
सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ ।
ढुङगा माटो र टिनले छाएको १ तले घरमा सुतिरहेको जिटी परिवारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।
जिटीको घर नजिकै रहेको गोठमा रहेको एक वटा भैसीको समेत मरेको प्रहरीले जनाएको छ ।