

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरआ मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको स्पष्ट गरेका छन् ।
उनले भनेका छन्-
३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।
काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।
नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।
काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।