सगरमाथा आरोहण गरेका इन्स्पेक्टर पौडेललाई पूर्व सशस्त्र प्रहरी संघको सम्मान



काठमाडौं । सगरमाथा आरोही सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) सुरज पौडेल सम्मानित भएका छन् ।

नेपाल पूर्व सशस्त्र प्रहरी संघले इन्स्पेक्टर पौडेललाई सशस्त्र मुख्यालय हल्चोकमा आयोजित एक समारोहबीच बधाई तथा शुभकामना ज्ञापन प्रदान गरेको हो ।

संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्स्पेक्टर पौडेललाई आईजी अर्यालले सम्मानित गरेका थिए ।

उक्त अवसरमा पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारी, सदस्यहरुका साथै सशस्त्र प्रहरी बलका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा आईजी अर्यालले सशस्त्र प्रहरी बलको झन्डालाई सगरमाथा पुर्याएर गौरवपूर्ण काम गरेकोमा इन्स्पेक्टर पौडेललाई बधाई दिनुका साथै आगामी दिनका लागि शुभकामना समेत दिएका थिए ।

त्यसका साथै इन्स्पेक्टर पौडेलले संगठनले आफूप्रति गरेको विश्वासलाई कहिल्यै आँच आउन नदिने बताउँदै सगरमाथा चढ्दाका केही अनुभव पनि सुनाएका थिए ।

नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष एवं अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व गर्दै सगरमाथाको प्रथम सफल आरोहण सशस्त्र प्रहरी बल नेपालमा ईतिहासका रुपमा रहने उल्लेख गर्दै सशस्त्र प्रहरी नेपालको हिमाली भेगमा सीमा सुरक्षा गर्न तथा हाई अल्टिच्युडमा परिचालित हुन सक्ने जनशक्ति उत्पादन गर्न सक्षम रहेको बताए । साथै उनले सक्षम नेतृत्व र प्रेरणादायी भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई समेत हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संगठनको कुशल नेतृत्वको कारण सशस्त्र प्रहरी बलको तर्फबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल र संगठन प्रमुखप्रती हार्दिक आभार प्रकट गरेका थिए ।

पौडेलले सशस्त्र प्रहरी बल, नेपालको ईतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै जेठ ७ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

उनी सगरमाथा आरोहणका लागि गत चैत्र ३० गते त्यसतर्फ गएका थिए । उनले यस बिचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गरेका थिए ।

गत जेठ ३ गते सशस्त्र प्रहरी निरीक्षक पौडेलसहितको आरोहण टोली सगरमाथाको चुचुरोतर्फ प्रस्थान गरेको थियो ।

स्याङ्जा स्थायी घर भएका पौडेल २०६७ सालमा खुला प्रतिष्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकका रुपमा संगठन प्रवेश गरेका थिए ।