

सगरमाथा चढेका सशस्त्र इन्स्पेक्टर पौडेल आधारशिविर आइपुगे, भोलि काठमाडौं आइपुग्ने !

काठमाडौं । नेपालको सुरक्षा निकायको सबैभन्दा कान्छो संगठन सशस्त्र प्रहरी बलका तर्फबाट पहिलोपटक सगरमाथाको शिखरमा पाईला राखेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल आज (बुधबार) सगरमाथाको आधारशिविर आइपुगेका छन् ।
आधारशिविर आइपुगेका पौडेल सम्भवतः भोली (बिहीबार) काठमाडौं आइपुग्ने समेत जनाएका छन् ।
सशस्त्र प्रहरी बल, नेपालको ईतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । उनी सगरमाथा आरोहणका लागि गत चैत्र ३० गते त्यसतर्फ गएका थिए । उनले यस बिचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गरेका थिए । गत जेठ ३ गते सशस्त्र प्रहरी निरीक्षक पौडेलसहितको आरोहण टोली सगरमाथाको चुचुरोतर्फ प्रस्थान गरेको थियो ।
सशस्त्र प्रहरी बल, नेपालले उत्तरतर्फको कठिन भूगोलमा समेत आफ्नो उपस्थिती जनाउँदै लगेको अवस्थामा यस आरोहणले आगामी दिनमा हिमाली भेगमा हुने विपद् व्यवस्थापन कार्यमा समेत सहयोग पुग्ने संगठनले अपेक्षा लिएको छ । हिमाली भेगमा हुने विपद् व्यवस्थापन उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले सशस्त्र प्रहरी बल, नेपालले पर्वतिय उद्धार तालिम शिक्षालय स्थापना गरिसकिएको छ । यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएअनुरुप सगरमाथाको सफल आरोहणले त्यस प्रकारका तालिमलाई समेत गुणस्तरीय बनाउन मद्दत पुग्ने विश्वास समेत सशस्त्रले लिएको छ ।